हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह


झापा, कात्तिक ३०। डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ ।
उक्त हात्तीको बथान आज शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेका वन कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइकिङ गरिरहेका छौँ ।” उहाँले हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्कन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख श्रेष्ठका अनुसार हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गर्दछन् । आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै उक्त बथान भारततर्फ फर्कने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो ।























