समाचार, समाज

शनिबारदेखि तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण शुरू

नवलपुर टुडे
२०८२ कार्तिक ३० | बिहान ०९:०७ बजे

शंकरनगर । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण शनिबारदेखि शुरू भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउन शनिबारदेखि प्रारम्भिक प्रशिक्षण सहितको छनौट कार्यक्रम शुरू गरिएको संस्थाका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।

तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा –१ का वडाध्यक्ष फर्सुराम गिरिले आफ्ना वडाका किशोर–किशोरीका राय बुझ्न पाइने कार्यक्रम सञ्चालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो । शुभयात्रा नेपाल शंकरनगर समितिका संयोजक नरप्रसाद खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।

संस्थाका नगर सदस्य सिता पौडेलको सञ्चालनमा भएको कार्यक्रमबीच संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता अघि प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक कुलबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै प्यारामाउण्ट मा.वि.को कक्षा ९ की विद्यार्थी श्रीषा भण्डारी नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । नगरका सत्रवटै वडाका प्रारम्भिक चरणपछि अन्तिम प्रतिस्पर्धा गराइने नगर संयोजक ईश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो । आगामी मंसिर ६ गते वडानम्बर –२ मा बसोबास गर्ने विद्यार्थीबीच छनौट प्रतियोगिता हुनेसमेत उहाँले बताउनुभयोे ।

शंकरनगरस्थित न्यू लाईट कलेजमा आयोजित कार्यक्रममा संस्थाका शंकरनगर समितिका उपाध्यक्ष विष्णुकला पाण्डे, निर्णायक वेदप्रसाद न्यौपाने, न्यू लाईट संस्थाका साझेदार एवम् शिक्षक विष्णुप्रसाद गौतम, भलवारी समितिका संयोजक सरस्वती गैह्रे, सचिव नर्वदा वाग्ले, आजीवन सदस्य किशोर पाठक, कार्यालय सहायक खिमकुमारी बस्याल लगायतले बोल्नुभएको थियो ।

कमेन्टहरु