समाचार

शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

रासस
२०८२ कार्तिक ३० | बिहान ०६:०७ बजे

कञ्चनपुर । कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका(८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त छन् । दानबहादुर जन्मिने बेला अरू जस्तै सामान्य थिए। चार वर्षको उमेरमा उनी बिरामी भए । त्यसपछि बिस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त छन् । उनलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मानेनन् ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदाधाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गरे । अहिले उनले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछन् । उनले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बनेका छन् । 

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भनिन्, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरूलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उनको भनाइ छ ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उनलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भनिन् ।

“अरूको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरू साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भने, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उनले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यावसायिक बनाउन नसकेको बताए । 

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भने, “अरूलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उनले भने । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरु मात्रै होइन, प्रेरणाको स्रोत बनेका छन् । 

 

कमेन्टहरु