स्वास्थ्य

‎स्वास्थ्य सेवा प्रवाहमा अब्बल बन्दै

उमेश रोकाया
२०८२ कार्तिक ३० | बिहान ०५:०७ बजे

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा अब्बल बन्दै गएको छ । पहिला यहाँका स्थानीयले स्वास्थ्य शिक्षा बाटो खानेपानी लगायतका विभिन्न समस्या भाेग्दै आएका थिए । सडकको पहुँच नहुँदा यहाँका स्थानीयले दाल चामल नुन तेल लगायतका दैनिक उपभाेग्य सामाग्री भेडाबाख्रा घोडाको माध्यमबाट ढुवानी गर्दै आएका थिए । सडककाे सुविधा नभएकाेले पहिला यहाँ खाद्यान्न समेतको निकै अभाव हुने गथ्र्यो ।

‎२०७५ साल देखि यो पालिकाले शिक्षा स्वास्थ्य खानेपानी सडक लगायतका भौतिक पुर्वाधारका क्षेत्रमा रकम लगानी गर्दै आएपछि अहिले याे पालिका विकास निर्माणका क्षेत्रमा समेत निकै फड्को मार्दै गएकाे छ। पछिल्लो समय यो पालिकाले यहाँका सबै वडाका स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिने गरी स्वास्थ्यको क्षेत्रमा पनि राम्राे लगानी गर्दै आएकाे छ । जसका कारण अहिले यो पालिका स्वास्थ्य सेवा प्रवाहमा निकै अब्बल बन्दै गएको हो ।

‎अहिले यहाँका दुर्गम गाउँ बस्तीमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण हुँदा यहाँका स्थानीयलाई समेत स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । गाउँमा सिटामोलकाे अभाव भाेग्दै गरेका यहाँका स्थानीय महिलाहरुले अहिले घरमै भिडियाे एक्सरे समेतकाे सुविधा पाउँने गरेका छन् । हिमाली गाउँपालिका धुलाचौरमा निर्माण गरेको सुविधा सम्पन्न स्वास्थ्यको भवन निर्माण भएसँगै अहिले पालिकाका भरीका स्थानीय महिलालाई यहाँ देखि स्वास्थ्य सेवा लिन थप सहज बनाएको छ ।

‎पहिला सामान्य बिरामी हुँदा हामीलाई उपचार गर्नका लागि कोल्टी जानु पथ्र्यो । त्यहाँ जाँदा निकै समस्या हुन्थ्यो । अहिले धुलाचौरमै राम्रो सुविधा सम्पन्न स्वास्थ्य संस्थाको भवन निर्माण भएपछि यती बेलामा भने उपचारमा निकै सहज भएको हिमाली गाउँपालिका –६ का रामबहादुर रावतले बताउनुभयो ।

‎उहाँले भन्नुभयो, “पहिला राम्रो भवन नहुँदा यहाँका गर्भवती महिलाहरुलाई पनि सुत्केरी गराउँन असहज हुने गथ्र्यो । यहाँका अधिकाशं गर्भवती महिला सुत्केरी गराउँनका लागि दुइ चार घण्टाको पैदल हिडेर कोल्टीमा लानु पथ्र्यो । कोही महिलाहरु ढिला हुँदा बीचबाटोमै सुत्केरी हुने गथ्र्ये । ”

‎अहिले गाउँमै यहाँको स्वास्थ्य चौकीमा राम्रो र सुविधा सम्पन्न भवन निर्माण भएपछि ती गर्भवती महिलाहरुका लागि समेत सुत्केरी हुन निकै सहज भएको रावतले बताउनुभयो । धुलाचौर स्वास्थ्यचौकीमा सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि अहिले यहाँ आउने गरेका सबै बिरामीहरुलाई राम्रो सँग सेवा दिन निकै सहज भएको धुलाचौर स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबहादुर विष्टले बताउनुभयो ।

‎उहाँले भन्नुभयो, “पहिला सानो कर्कटपाताले निर्माण गरेको भवन थियो । त्यसैमा भवनमा बिरामीहरुको उपचार गर्न बाध्यता हुन्थ्याे । कहिले धेरै बिरामीहरु आएपछि उनीहरुलाई भित्र राखेर उपचार गर्न हामीलाई निकै असहज हुने गथ्र्यो । ” अहिले तीन तलाको सुविधा सम्पन्न नयाँ स्वास्थ्यको भवन निर्माण भएको छ । त्यसमा र्याम सहितको व्यवस्था छ । अहिले ह्वीलचियरमा राखेर बिरामीहरुलाई माथिल्लो तला सम्म लान सकिन्छ । अहिले यो भवन निर्माण भएपछि हामीलाई जुन सुकै खालका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न निकै सहज भएको विष्टले बताउनुभयो ।

कमेन्टहरु