सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

‎हिमाली गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण सम्पन्न

उमेश रोकाया
२०८२ कार्तिक २९ | मध्यान्ह ०७:०७ बजे


‎बाजुरा, कार्तिक २९ । हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा निर्माण गरेको सुविधा सम्पन्न स्वास्थ्यको भवन निर्माण भएसँगै अहिले पालिकाका भरीका स्थानीय महिलालाई यहाँ देखि स्वास्थ्य सेवा लिन थप सहज बनाएको छ । पहिला सामान्य बिरामी हुँदा हामीलाई उपचार गर्नका लागि कोल्टी जानु पथ्र्यो । त्यहाँ जाँदा निकै समस्या हुन्थ्यो । अहिले धुलाचौरमै राम्रो सुविधा सम्पन्न स्वास्थ्य संस्थाको भवन निर्माण भएपछि यती बेलामा भने उपचारमा निकै सहज भएको हिमाली गाउँपालिका –६ का रामबहादुर रावतले बताउनुभयो ।

‎उहाँले भन्नुभयो, “पहिला राम्रो भवन नहुँदा यहाँका गर्भवती महिलाहरुलाई पनि सुत्केरी गराउँन असहज हुने गथ्र्यो । यहाँका अधिकाशं गर्भवती महिला सुत्केरी गराउँनका लागि दुइ चार घण्टाको पैदल हिडेर कोल्टीमा लानु पथ्र्यो । कोही महिलाहरु ढिला हुँदा बीचबाटोमै सुत्केरी हुने गथ्र्ये । ” अहिले गाउँमै यहाँको स्वास्थ्य चौकीमा राम्रो र सुविधा सम्पन्न भवन निर्माण भएपछि ती गर्भवती महिलाहरुका लागि समेत सुत्केरी हुन निकै सहज भएको रावतले बताउनुभयो ।

‎धुलाचौर स्वास्थ्यचौकीमा सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि अहिले यहाँ आउने गरेका सबै बिरामीहरुलाई राम्रो सँग सेवा दिन निकै सहज भएको धुलाचौर स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला सानो कर्कटपाताले निर्माण गरेको भवन थियो । त्यसैमा भवनमा बिरामीहरुको उपचार गर्न बाध्यता हुन्थ्याे । कहिले धेरै बिरामीहरु आएपछि उनीहरुलाई भित्र राखेर उपचार गर्न हामीलाई निकै असहज हुने गथ्र्यो । ”

‎अहिले तीन तलाको सुविधा सम्पन्न नयाँ स्वास्थ्यको भवन निर्माण भएको छ । त्यसमा र्याम सहितको व्यवस्था छ । अहिले ह्वीलचियरमा राखेर बिरामीहरुलाई माथिल्लो तला सम्म लान सकिन्छ । अहिले यो भवन निर्माण भएपछि हामीलाई जुन सुकै खालका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न निकै सहज भएको विष्टले बताउनुभयो ।

‎आर्थिक वर्ष २०८० / ८१ मा पालिका र सङ्घीय सरकारको दुइ करोड भन्दाबढी लगानीमा निर्माण गरिएको यो भवन २०८२ असारमा सम्पन्न गरिएको थियो । भवन निर्माणको काम सम्पन्न भएसँगै अहिले यसै भवन देखि सबै प्रकारका सेवा दिने गरेको छ । अहिले यहाँ आउने गरेका सबै प्रकारका बिरामीहरुलाई सकिने जती उपचार सेवा दिन समेत निकै सहज भएको छ ।

‎बिरामीहरुलाई उपचार गर्नका लागि आउने गरेको सहयोगिहरुका लागि समेत बस्नको समेत राम्रो व्यवस्था छ । जिल्लाकै एक दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै फड्को मार्दै गएपछि यहाँका स्थानीयको मुहारमा समेत निकै खुसी छाएकाे छ । यहाँका गाउँ बस्तीमा रहेका सबै स्वास्थ्य संस्थाका भवन समेत राम्रो सुविधा सम्पन्न रहेका छन् । हिमाली गाउँपालिकाले यहाँका प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य संस्थाको भवन निर्माण कार्यमा निकै जोड दिदै आएपछि अहिले यहाँका स्वास्थ्य संस्थाका भवन नयाँ र सुविधा सम्पन्न बन्दै गएका छन्।

‎धुलाचौर स्वास्थ्यचौकीमा प्राय पालिका भरीका स्थानीयहरु उपचारका लागि आउने गरेकोले हामीले उनीहरुलाई राम्रो स्वास्थ्य सेवा प्रवाह गर्ने गरी पछिल्लो समय स्वास्थ्यमा लगानी गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “ गत आर्थिक वर्षमा पालिकाको एक करोड र सङ्घीय सरकारको एक करोड गरी दुइ करोडमा धुलाचौर स्वास्थ्य चौकीको सुविधा सम्पन्न स्वास्थ्य चौकी नयाँ भवन निर्माण गरेको हो ।”

‎पहिला यहाँ राम्रो खाले स्वास्थ्यको भवन नहुँदा यहाँ आउने गरेका बिरामीहरुलाई उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई निकै समस्या हुने गरेको थियो । अहिले यहाँ सुविधा सम्पन्न स्वास्थ्यको नयाँ भवन निर्माण गरिसकेपछि यती बेला बिरामीहरुलाई सेवा प्रवाहमा निकै सहज भएको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु