रुपन्देहीमा मतदाता नामावली दर्ता सहजिकरण अभियान सुचारु


रूपन्देही, देवदह । जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि मतदान अधिकारबाट वञ्चित हुन नदिने उद्देश्यले देवदहमा मतदाता नामावली दर्ता सहजिकरण अभियान तीव्र रुपमा सञ्चालन गरिएको छ।
कार्तिक २५ गतेबाट सुरु गरिएको उक्त अभियान अन्तर्गत देवदह आदर्श बहुमुखी क्याम्पस, ग्रीन प्लान्ट आवासीय मावि तथा देवदह–४, ५ र ६ का वडा कार्यालय मार्फत अहिलेसम्म १५०० भन्दा धेरै नागरिकको निशुल्क फारम दर्ता तथा आवश्यक सहजीकरण गरिएको अभियानका सदस्यहरूले बताएका छन्। दर्ता अवधि भर अभियान निरन्तर सञ्चालन हुने जनाइएको छ।
देवदह बाहिर रहेका युवाहरूलाई समेत समेट्ने उद्देश्यले फेसबुक ग्रुप, व्हाट्सएप समूह तथा सामाजिक सञ्जालमार्फत फारम भरिदिने, सूचना उपलब्ध गराउने तथा अन्य सहयोग पुर्याउने कार्य समेत भइरहेको अभियानका अभियन्ता सुस्मिता ढकालले जानकारी दिइन्। उनका अनुसार हालसम्म ४० भन्दा बढी स्थानीय युवा स्वयंसेवक अभियानमा सक्रिय भइसकेका छन् भने थप युवाहरू जोडिने क्रम जारी छ।
अभियन्ता रोहित वाग्लेले प्रारम्भिक चरणमा सहभागिता कम भए पनि अहिले स्थानीय तथा बाहिरी क्षेत्रका युवाहरूको चौतर्फी साथ र रुचि बढेको बताए। फेसबुक लाइभ र अनलाइन माध्यममार्फत मतदाता नामावली दर्ताबारे सचेतना फैलाइँदै आएको पनि उनले बताए।
अभियानमा प्रत्यक्ष रूपमा सक्रिय युवाहरूमा नवीन लुइटेल, बिमल भुसाल, गोपाल पाण्डे, थानेश्वर लम्साल, ज्योति काफ्ले, कल्पना पाठक, आविष्कार सुनार, निश्चल अर्याल, रोहित वाग्ले, नवीन पाण्डे, समज्ञा अधिकारी, सुस्मिता ढकाल, मुकेश ज्ञवाली, आविष्कार पराजुली, आविष्कार सुनार लगायतको उल्लेखनीय भूमिका रहेको छ।
यस्तै, रोजगारी र अध्ययनका लागि देवदह बाहिर रहेर पनि सहजीकरणमा साथ दिइरहेका युवाहरूमा बिनोद पान्डे, राजु पाण्डे, सागर पाण्डे, अस्मित रेग्मी, डिल्लिराम भट्टराई, राहुलदेव सापकोटा, रेसम अधिकारीलगायत रहेका छन्।
अभियानका सदस्यहरूका अनुसार ‘मतदान सबैको अधिकार’ , मतदान देश रुपान्तरणमा योगदान भन्ने भावनासहित निरन्तर सचेतना, मतदाता नामावली दर्ता सहयोगमा काम भइरहेको छ ।























