प्रबास

आरियाना ग्रान्डेलाई समात्ने व्यक्तिलाई सिंगापुरमा अभद्र व्यवहारको आरोप

एजेन्सी
२०८२ कार्तिक २९ | मध्यान्ह १२:०७ बजे

सिंगापुर । सिंगापुरमा ‘विकेड : फर गुड’ प्रिमियरको क्रममा ब्यारिकेड नाघेर गायिका आरियाना ग्रान्डेलाई समात्ने एक व्यक्तिलाई सार्वजनिक स्थानमा अभद्र व्यवहारको आरोप लागेको छ।

अहिले भाइरल भएको एक भिडियोमा अस्ट्रेलियाली नागरिक जोन्सन वेन प्रशंसकहरूले घेरिएको पहेँलो कार्पेटमा हिँडिरहेको बेला फोटोग्राफरहरूलाई धकेल्दै ग्रान्डेतर्फ दौडिएको देखिन्छ। ग्रान्डेकी सहअभिनेत्री सिन्थिया एरिवो तुरुन्तै हस्तक्षेप गरी चकित परेकी गायिका तथा अभिनेत्रीलाई वेनबाट छुटाउन सफल भएकी थिइन्।

२६ वर्षीय वेनले बिहीबार राति इन्स्टाग्राममा आफू ‘पक्राउ परेपछि मुक्त भएको’ पोस्ट गरेका थिए । तर, शुक्रबार दिउँसो सिंगापुरको एक अदालतले उनलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोप लगाएको छ। यो घटनाले सिंगापुरमा व्यापक आक्रोश पैदा गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार वकिलबिना नै अदालतमा उपस्थित भएका वेनले आफू दोषी स्वीकार गर्ने मनसाय बनाएका छन्। दोषी ठहर भएमा उनलाई २,००० सिंगापुर डलरसम्म जरिवाना हुनसक्छ।आफूलाई ‘ट्रोल मोस्ट हेटेड’ भनी चिनाउने वेनले यसअघि पनि कन्सर्ट वा कार्यक्रमहरूमा हस्तक्षेप गरेको यो पहिलो घटना होइन। उनको इन्स्टाग्राममा यसअघि पनि अन्य सेलिब्रेटी कार्यक्रमहरूमा अवरोध पुर्‍याएका भिडियोहरू छन् । 
 
यस वर्ष जुनमा केटी पेरीको सिड्नी कन्सर्टमा स्टेजमा उफ्रिएको र गत डिसेम्बरमा द चेनस्मोकर्सको कन्सर्टमा पनि उनले त्यस्तै गरेका थिए। घटनापछि फ्यानहरूले वेनलाई पक्राउ गरी देश निकाला गर्नुपर्ने माग गरेका थिए।

कमेन्टहरु