पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह


काठमाडौँ, कत्तिक २८ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ । संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ । त्यसका लागि गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचनासमेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढेको छ । यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ ।























