बाजुरा युथ कनेक्टको आयोजनामा जिल्ला स्तरीय सेभन-ए-साइड खुला फुटसल काठमाडौमा सुरु


बाजुरा, कार्तिक २८ । बाजुरा युथ कनेक्टको आयोजनामा काठमाडौँमा जिल्ला स्तरीय सेभन-ए-साइड खुला फुटसल प्रतियोगिता सुरु गरिएको छ । काठमाडौँको कीर्तिपुरस्थित मच्छेनारायण फुटसलमा उक्त प्रतियोगिता आज बिहान ८ बजेबाट सुरु गरिएको कार्यक्रम संयोजक बिमल रोकायाले जानकारी दिएका छन् ।
“खेलकुद मार्फत एकता र नेतृत्वको विकास, बाजुरा युथ कनेक्ट बाजुराको पहल” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको उद्देश्य युवाबीच एकता, सञ्जाल विस्तार र नेतृत्व विकासमा सहयोग पुर्याउने रहेको संयोजक रोकायाले बताएका छन् ।
उनका अनुसार, राष्ट्रिय नारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” लाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु.४१,१११ नगद, मेडल र प्रमाणपत्र ट्रफी प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले रु. १८,१११ नगद, मेडल र प्रमाणपत्र व्यवस्था गरिएको छ ।
साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई पनि विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । बाजुरा युथ कनेक्टले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक र नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा खेलकुद मार्फत युवामा सकारात्मक सोच र सहकार्यको भावना विकास गर्न निरन्तर कार्यक्रम अघि बढाइने भएको छ ।


















