‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’ : गृहमन्त्री अर्याल


काठमाडौँ, कात्तिक २७। गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उहाँले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताउनुभयो ।
गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको स्पष्ट पार्नुभयो । “ युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ”, उहाँले भन्नुभयो, “यसबाट दुई लाख बढी मतदाता थप भएका छन् ।”
निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भइसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको गृहमन्त्रीको भनाइ छ । “फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भीरतापूर्वक अघि बढेको छ”, उहाँले भन्नुभयो, “सम्पूर्ण चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ ।”
वर्तमान सरकारसँग देश र आमजनताको उच्च अपेक्षा रहेको जनाउँदै गृहमन्त्रीले छोटो अवधिको बावजुद जनताका आकांक्षालाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो, “हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।























