विश्व, समाचार

इरानमा किन भइरहेको छ अभूतपूर्व जलसंकट ?

नवलपुर टुडे
२०८२ कार्तिक २७ | बिहान ०६:०७ बजे

काठमाडौं । इरानले करिब ६ दशकयताकै सबैभन्दा गम्भीर सुक्खा भोगिरहेको छ । जसका कारण देशका प्रमुख बाँधहरूको जलस्तर न्यूनतम तहमा झरेको छ ।

इरानी अधिकारीहरूले तेहरान प्रान्तमा लगभग एक शताब्दीमा देखिएको सबैभन्दा भीषण सुक्खा परेको बताएका छन् । त्यसका कारण राजधानी तेहरानमा पानी रासनिङ (निश्चित मात्रामा वितरण) लागु गरिएको घोषणा गरेका छन् ।

तेहरान वाटर एन्ड वेस्टवाटर कम्पनीका प्रमुख मोहसेन अर्दकानीले गत शनिबार (नोभेम्बर ८) का गत वर्ष देशभर जम्मा १५९ मिलिमिटर वर्षा मात्र रेकर्ड गरिएको बताएका थिए ।

न्युयोर्क टाइम्सका अनुसार, इरानका जलसम्बन्धी मामिलाका प्रवक्ता इसा बोजोर्गजादेले सहरी क्षेत्रमा हुने पानीको चुहावट घटाउन र जलाशय पुनः भरिने अवसर सिर्जना गर्नका लागि आधारातदेखि बिहानसम्म पानीको चाप घटाइने बताए ।

यसैबीच, राष्ट्रपति मसउद पेजेस्कियनले निकट भविष्यमा पर्याप्त वर्षा नपरेमा, केवल रासनिङले समस्या समाधान गर्न नसक्ने र परिस्थिति बिग्रँदै गएमा तेहरानका बासिन्दाहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

इरानमा पानी आपूर्तिको अवस्था
इरानी राष्ट्रिय ठूला बाँध समितिका अनुसार, इरानमा हाल ५२३ वटा ठूला बाँधहरू सञ्चालनमा रहेका छन् । त्यसमा लगभग ९९.६ प्रतिशत सहरी जनसंख्या र ८२ प्रतिशत ग्रामीण जनसंख्यालाई पिउने पानीको आपूर्ति उपलब्ध रहेको अनुमान गरिएको छ ।

हालका महिनाहरूमा पानीसंकटप्रति चिन्ता तीव्ररूपमा बढेको छ । इरानी जलस्रोत व्यवस्थापन कम्पनीले गत अक्टोबरमा देशका कुल जलाशयको करिब १० प्रतिशत अंश ओगट्ने १९ वटा प्रमुख बाँध सुक्खा भएको बताएको थियो ।

एफपीले आइतबार दिएको जानकारीअनुसार, तेहरानलाई पानी आपूर्ति गर्ने पाँच प्रमुख बाँधहरूको जलस्तर गम्भीर अवस्थामा पुगेको बताइएको छ । तीमध्ये एउटा बाँध लगभग पूर्णरूपमा खाली भइसकेको छ । अर्कोमा ८ प्रतिशतभन्दा कम पानी बाँकी रहेको बताइएको छ ।

करज नदीमा अवस्थित अमिर कबिर बाँधमा प्रतिदिन १४ लाख घन लिटर मात्र पानी बाँकी रहेको अनुमान छ, जसले दुई हप्ताभन्दा बढी टिक्न नसक्ने देखिन्छ । यसको विपरीत, तेहरान प्रान्तमा दैनिक पानीको उपभोग लगभग ३० लाख घन लिटर रहेको अनुमान गरिएको छ ।

त्यस्तै, इरानको पवित्र सहर र उत्तर–पूर्वी रजवी खोरासान प्रान्तमा अवस्थित मसहदमा सहरलाई पानी आपूर्ति गर्ने चार बाँधहरूको जलस्तर ३ प्रतिशतभन्दा तल झरेको आईएसएनए समाचार एजेन्सीले जनाएको छ ।

इरानमा अहिले सुक्खा किन ?
तत्काल हेर्दा, शरद ऋतुमा पर्याप्त वर्षा नहुँदा इरानमा सुक्खाको सुरुवात भएको हो । ग्रीष्म ऋतुमा बढेको तापक्रम र विद्युत् आपूर्तिमा आएको व्यापक कटौतीले यस अवस्थालाई अझ गम्भीर बनाएको छ ।

राष्ट्रपति मसौद पेजेश्कियनले गत जुलाईदेखि नै आसन्न जलसंकटबारे चेतावनी दिँदै आएका छन् । उनले विशेष गरी तेहरानलाई पिउने पानी आपूर्ति गर्ने धेरै जलाशयहरू सुक्दै गएको उल्लेख गरेका थिए । सरकारले त्यतिबेला प्रान्तका जलाशयहरू केही हप्तामात्र टिक्ने अनुमान गरेको थियो ।

देशका जल व्यवस्थापन नीतिहरू पनि यो संकटका लागि जिम्मेवार ठहरिएका छन् । नियन्त्रणविहीन बाँध निर्माण, अस्थिर खेतीपाती पद्धतिहरू र अवैध कुपखननले इरानका जलस्रोतहरू क्रमशः सुकाउँदै लगेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार, तेहरानमा मात्र जमिन वार्षिक रूपमा करिब ३०० मिलिमिटरले धँसिरहेको र यो भौतिक पूर्वाधारको स्थिरता र सुरक्षाका लागि निर्धारित गम्भीर सीमाभन्दा लगभग ६० गुणा बढी हो ।

इरानी मूलका जलवायु वैज्ञानिक कावेह मदानीले देशमा पानीको चरम अभावको अवस्था सिर्जना गर्न आधिकारिक नीतिहरू नै जिम्मेवार रहेको बताएका छन् । सन् २०१६ मा मदानी, अमिर आघाकोचक र अली मिर्चीद्वारा प्रकाशित अनुसन्धानपत्रमा ताल, सिमसार र नदीजस्ता जलस्रोतहरूको गलत व्यवस्थापनले देशव्यापी मरुभूमीकरण र बारम्बार आँधीबेहरी निम्त्याएको उल्लेख छ ।

रोयटर्सले प्रकाशित गरेको प्रोफाइल अनुसार, मदानीले सरकारलाई यी विफलताहरू बुझ्न असफल भएको र सम्पूर्ण दोष जलवायु परिवर्तन तथा पश्चिमी औद्योगिक राष्ट्रहरूमा मढिएको बताएका छन् र ती राष्ट्रहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा ठूलो योगदान दिएको बताइएको छ ।

अन्य भूमिका खेल्ने कारकहरू
कावेह मदानीले इरानमा लगाइएका विश्वव्यापी आर्थिक प्रतिबन्धहरू पनि देशको जलसंकट र थप ठूला वातावरणीय समस्याका लागि जिम्मेवार रहेको बताएका छन् । उनका अनुसार, यी प्रतिबन्धहरूले देशलाई आत्मनिर्भर बन्न बाध्य पारेका छन् ।

सन् २०२० मा प्रकाशित उनको शोधपत्र ‘इरान अन्डर स्याङ्क्सन’का अनुसार, पेट्रोलियम निर्यात रोकिएपछि इरानले आफ्नै कच्चा तेल शोधन कारखाना निर्माण गर्न थालेको थियो । त्यस्तै, कार बिक्रीमा प्रतिबन्ध लागेपछि उनीहरूले अदक्ष र बढी प्रदूषण फैलाउने सवारी साधनहरूको उत्पादन सुरु गरे ।

सुक्खाको गम्भीरता बढेसँगै, इरानका केही अधिकारीहरू र नागरिकबीच छिमेकी देशहरूले वर्षाका बादलहरू चोरेको भन्ने ‘कन्सपिरेसी थिओरी’ पनि फैलिएका छन् । तर, इरानको वायुमण्डलीय जल प्रविधि प्रमुखले यी दाबीहरूलाई पूर्ण रूपमा खारेज गरेका छन् ।

बीबीसीको रिपोर्ट अनुसार, इरानका ऊर्जा मन्त्री अली आबादीले तेहरानको जलसंकटका लागि सय वर्ष पुरानो पानी आपूर्ति प्रणालीमा हुने चुहावटलाई जिम्मेवार ठहराएका छन् । उनले यसका साथै जुन महिनामा भएको इजरायलसँगको द्वन्द्वलाई पनि अप्रत्यक्ष रूपमा कारणका रूपमा उल्लेख गरेका थिए ।

सन् २०२५ को जुन १५ मा इजरायलले तेहरानको उत्तरी भाग ताजरिशमा आक्रमण गरेको थियो, त्यसपछि सो क्षेत्रमा व्यापक बाढी आएको थियो ।

इरानले जलसंकटको सामना कसरी गरिरहेको छ ?
राष्ट्रपति मसौद पेजेस्कियन महिनौँदेखि तेहरानको जलसंकटबारे चेतावनी दिँदै आएका छन् । उनले देशको राजधानीलाई फारसको खाडीको किनारमा रहेको ‘खुला पानीको पहुँच भएको दक्षिणी क्षेत्रमा’ सार्ने लामो समयदेखिको प्रस्तावलाई पुनः अघि सारेका छन् ।

इरानी अधिकारीहरूले यो हप्ता तेहरानमा रातिभर पानी आपूर्ति कटौती सुरु गरेका छन् । राज्य–नियन्त्रित तस्निम समाचार एजेन्सीका अनुसार, यो कटौती अझै केही समयसम्म जारी रहने अनुमान छ ।

तत्काल समाधानको रूपमा वर्षा भित्र्याउने उद्देश्यले इरानी ऊर्जा मन्त्रालयले क्लाउड सिडिङ कार्यक्रमको प्रस्ताव अघि सारेको छ । यो प्रक्रियामा सिल्भर आयोडाइड जस्ता कणहरू बादलमा छरिन्छन्, ताकि कृत्रिम रूपमा वर्षा सुरु गर्न सकियोस् ।

भारतको दिल्ली सरकार र आईआईटी कानपुरले पनि मनसुनपछि वायु गुणस्तरमा आएको गिरावट नियन्त्रण गर्न गत अक्टोबर २८ मा यही विधि प्रयोग गरेका थिए । तर, वर्षा ल्याउने उपयुक्त बादल नहुँदा उक्त प्रयास सफल हुन सकेन ।

सफरका संस्थापक तथा परियोजना निर्देशक डा. गुफ्रान बेगका अनुसार, यो प्रविधिको सफलताको सम्भावना सीमित हुन्छ र यसले केवल अल्पकालीन राहत मात्र दिन सक्छ । इन्डियन एक्स्प्रेसबाट ।

कमेन्टहरु