मधेसका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, सहिदलाई मधेस रत्न दिने पहिलो निर्णय


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस आन्दोलनको क्रममा शहादत दिएका सहिदहरुलाई मधेस रत्न दिने पहिलो निर्णय गरेका छन्। रातारात महोत्तरीको बर्दिबास स्थित एक होटेलमा सपथ ग्रहण गरेका मुख्यमन्त्री यादव सात दलको विरोधका बीच मंगलबार पदभार ग्रहण गरेका हुन्।
मुख्यमन्त्री यादव पदभारग्रहण गर्ने थाहा पाएपछि सात दलका प्रदेशसभा सदस्य तथा नेता कार्यकर्ता बिहानैदेखि मधेस भवनको अगाडि विरोध प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुको सहयोगमा भित्र पसेर पदभार ग्रहण गरेका हुन्। मुख्यमन्त्री यादवलाई मधेस भवनभित्र प्रवेशमा अवरोध गरेपछि प्रहरीले लाठी चार्ज समेत गरेका थिए ।
तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानलाई उल्लंघन गर्दै नेपालको संविधानको धारा १६८ को ३ अनुसार नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले आपत्ति जनाउँदै विरोधमा उत्रेको छ ।
मधेस सरकार गठन अवैधानिक रहेको भन्दै सोमबार मात्र रक्की प्रसाद साहलगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले दिर्घकालिन असर पर्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । त्यस्तै सात दलको तर्फबाट समेत मंगलबार सर्वोच्चमा रिट दायर भएको छ।























