ग्रामी अवार्डमा ‘साउन्ड्स अफ कुम्भ’ले पायो मनोनयन


नयाँ दिल्ली । ‘साउन्ड्स अफ कुम्भ’ एल्बमलाई ६८औं ग्रामी अवार्डमा सर्वश्रेष्ठ विश्वव्यापी संगीत एल्बम श्रेणीमा मनोनित गरिएको छ । यो एल्बम महाकुम्भ महोत्सवबाट प्रेरित छ । गायक–संगीतकार सिद्धान्त भाटियाद्वारा प्रस्तुत गरिएको यो एल्बम भारतीय संगीतका लागि प्रमुख सफलता हो ।
‘साउन्ड्स अफ कुम्भ’मा महाकुम्भका प्रत्यक्ष फिल्ड रेकर्डिङहरू छन् । यसमा प्राचीन मन्त्र र बाइनोरल बिटहरूलाई पनि समावेश गरिएको छ । यसमा सिद्धान्त भाटियाका साथै, जिम किमो वेस्ट, राघव मेहता, माडी दास, रोन कोर्ब, चारु सुरी र देवराज सन्याल लगायतले योगदान दिएका छन् । एल्बममा वी सेल्वागणेश, राजा कुमारी, आदित्य गढवी, कनिका कपूर, कला रामनाथ, भानुमती नरसिंहन, प्रवीण गोदखिंडी, अजय प्रसन्ना, र कल्याणी नायरको कामलाई पनि समावेश गरिएको छ ।
ग्रामीमा एलम्बले मनोनयन पाउनु महाकुम्भ मेलाको शान्ति र एकताको सन्देशले मान्यता पाउनु भएको सिद्धान्त भाटियाले भनेका छन् । यसलाई उनले भारतीय संगीतमा कोसेढुङ्गा साबित भएको बताएका छन् ।
६८औँ वार्षिक ग्रामी अवार्ड २०२६ को फेब्रुअरी १ मा लस एन्जलसको क्रिप्टोडटकम एरिनामा आयोजना हुनेछ ।























