बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

रासस
२०८२ कार्तिक २५ | मध्यान्ह १२:०७ बजे

ढोरपाटन (बागलुङ), कात्तिक २५ । जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।
डेङ्गी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उहाँको भनाइ छ ।


















