आज नेकपा एमालेले ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै


काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दै छ । ‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकतालाई प्रष्ट पारिएको छ । गौतमले आजको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्यालीमार्फत एमालेले शक्ति प्रदर्शन गर्न लागेका छन् । कतिपय पालिकाका केन्द्रमा नाराजुलुससहितका कार्यक्रम राखिएको छ ।
आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको छ । प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोणसभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको छ ।
जनप्रर्दशनका तस्बिर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा राख्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यसअघि नै निर्देशन गरेको छ ।























