भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?


भैरहवा, कात्तिक २४ । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो ।
यद्यपी नेपाल आउने प्रत्येक अन्तरराष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ । प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलको रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ एयर चाइनाको विमान तीनपटक मात्र डाइभर्ट भएको छ ।
विसं २०७९ जेठ १ गते, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पर्यटक लक्षित गरिएको खोलिएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा निराश हुनुपर्ने अवस्था छ । यस विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको छैन ।
भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् । भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।
यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ । नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य ९७३ डलर प्रतिहजार लिटर रहेको छभने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८१७ डलर मात्र रहेको छ । ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकाले पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पर्दैन ।
दूरी र समयको हिसाबले लखनऊभन्दा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिक हो । दूरीका हिसाबले काठमाडौँबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न भने १४२ नौटिकल माइल बढी पर्छ । तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सट्टा लखनऊ लैजाने गरेका छन् ।
विमानस्थल स्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकामा सत्यता छैन । विमानहरूलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने जानकारहरूको भनाइ छ ।
सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीमा दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन । आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन । यसबाहेक लिमा ६२६ हँुदै बाहिर उड्ने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने सुविधा पनि रहेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो । “भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तरराष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,” साह बताउँछन् ।
सुविधाको दृष्टिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा काठमाडौँभन्दा धेरै सुविधा रहेको छ । विमानस्थलका प्रवक्ता साहका अनुसार भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत्प्रतिशत छुट प्रदान गरिएको छ । ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाडौँको तुलनामा सरदर करिब एक डलर प्रतिकिलोलिटर हुन आउँछ ।
विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका स्थानीय ठाकुरकुमार श्रेष्ठले अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ टिप्पणी गर्नुभयो । उहाँले शनिबारको घटनाले दुईवटा वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको बताउनुभयो ।
नेपालले अन्तरराष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको उहाँको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तरराष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन् । यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।
विमानस्थल सञ्चालनका लागि अहिले वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति नहुनु र अन्तरराष्ट्रिय उडान धान्न सक्ने सक्षम ट्राभल व्यवसायी नहुनु पनि विमानस्थल नियमित सञ्चालन हुन नसक्नुको कारक तत्वका रूपमा रहेका छन् । यात्रुहरूलाई अझै पनि यस्का लागि काठमाडौँकै भर पर्नु परिरहेको छ । यसका लागि निजी क्षेत्रले नै पहल गर्नुपर्ने विमानस्थल पक्षको भनाइ छ ।
अप्रिल २०२५ यता गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल ठप्प रहेको थियो । यसै महिनादेखि भने एयर एसियाले सातामा दुईवटा उडान गरिरहेको छ । विमानस्थलका प्रवक्ता साहका अनुसार उडान रोकिए यता सातवटा चार्टड उडान मात्र भएको छ । विमानस्थलमा गत वर्ष ‘विन्टर शेड्युल’ मा १२ हजार ७८७ यात्रुको आगमन भएको थियो भने ११ हजार १११ जना यहाँबाट उडेका थिए ।
विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा हालको स्थानबाट सञ्चालन रहेको छ ।























