इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा


जकार्ता । इन्डोनेसियाका दिवङ्गत पूर्वराष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ । उनको मानव अधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविद्हरूको तीव्र विरोध हुँदाहुँदै पनि सरकारको निर्णय अनुसार उनलाई राष्ट्रका ‘नायकहरूको सूची’ मा समावेश गरिएको हो ।
वर्तमान राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबारको राष्ट्रिय नायक दिवसको अवसरमा आयोजित भव्य समारोहको अध्यक्षता गरेका छन् । प्रबोवो दिवङ्गत सुहार्तोका पूर्वज्वाइँ समेत हुन् । सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि दिने तयारीले देशभर विवाद र आक्रोशको लहर उठाएको थियो । सोबारे प्रश्न उठेपछि राष्ट्रपति प्रबोवोको कार्यालयले राष्ट्रपतिलाई उपाधि प्रदान गर्ने संवैधानिक अधिकार रहेको भन्दै निर्णयको बचाउ गरेको थियो ।
गत हप्ता करिब ५०० नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी र शिक्षाविद्हरूले संयुक्त रूपमा राष्ट्रपति प्रबोवोलाई सार्वजनिक पत्र पठाउँदै सुहार्तोलाई नायक घोषणा नगर्न आग्रह गरेका थिए । पत्रमा भनिएको थियो, ‘सुहार्तोलाई उपाधि प्रदान गर्नु लोकतान्त्रिक मूल्यहरूको अपमान हो र इतिहासको खतरनाक विकृति हो, जसले उहाँका पीडितहरूलाई पुनः घाइते बनाउँछ ।’
तर राज्य सचिव प्रसेतियो हादीले भने सरकारको निर्णयको बचाउ गर्दै भने, ‘यो निर्णय हाम्रो इतिहास र पूर्व नेताहरूको योगदानप्रति सम्मान प्रकट गर्ने एक हिस्सा हो । सुहार्तोले पनि आफ्नो समयमा राष्ट्र र जनताका लागि उल्लेखनीय योगदान गर्नुभएको छ ।’
सोमबारको समारोहमा सुहार्तोकी छोरी सिती हरदियन्ती रुक्माना र छोरा बाम्बाङ त्रिहातमोद्जो समेत उपस्थित रहेका थिए । समारोहपछि सितीले सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै भने, ‘कृपया मेरा बुबाले देशका लागि युवावस्थादेखि बुढेसकालम्म गरेका सङ्घर्षहरू सम्झनुहोस् । उहाँले इन्डोनेसियाका जनताको हितका लागि आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।’
यस वर्ष सम्मानित अन्य नौ व्यक्तिमध्ये श्रमिक अधिकारका लागि लड्दा मारिएकी कार्यकर्ता मार्सिना र सन् २००९ मा निधन भएका पूर्वराष्ट्रपति अब्दुर्रह्मान वाहिद पनि सामेल रहेका छन् । प्रबोवोले नेतृत्व गरेको यो निर्णयले इन्डोनेसियामा पुनः पुराना घाउहरू चर्काउने र राजनीतिक तथा नैतिक बहसलाई पुनः जीवित बनाएको विश्लेषकहरूले बताएका छन् ।























