धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग


काठमाडौँ, कात्तिक २४ । घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन् । उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रका सम्बन्धमा कैलाली जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा धनगढी उपमहानगरपालिकालाई जानकारी गराइएको टोल विकास संस्थाका अध्यक्ष ओझाले बताउनुभयो । शुभकामना टोलमा ८७ घरधुरीमा ५०० भन्दा बढी व्यक्तिको बसोबास रहेको छ ।
“दुई वर्षदेखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन”, अध्यक्ष ओझाले भन्नुभयो, “तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ ।”
पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्यांक नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन् ।
“कतिबेला के हुन्छ भन्न सकिन्न । डिपोका कारण सधैँको चिन्ता’, ओझाले भन्नुभयो, “स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्, घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था छ ।”
डिपो स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजीमा निगम
स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो । सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको निगमले स्पष्ट पारेको छ ।
निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताउनुभयो । “उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन, चार–पाँच स्थानमा जग्गा खोजी भइरहेको छ । पारदर्शी र मितव्ययी ढङ्गले डिपो स्थानान्तरणको जग्गा खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।
हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नुपरेको प्रादेशिक प्रमुख जोशी बताउनुहुन्छ । अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोडअनलोड गर्न पनि समस्या भइरहेको उहाँको बताउनुभयो ।
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्नसक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन् । अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्न नसक्ने बताइएको छ ।
एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।
विसं २०३७ मा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा छ । उक्त डिपोबाट अहिले दैनिक १०० किलोलिटर पेट्रोल, ३०० किलोलिटर डिजेल तथा न्यूनमात्रामा मट्टितेल बिक्री हुँदै आएको छ ।























