छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार


मुस्ताङ, कात्तिक २० । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो ।
हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए ।
रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।
पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।























