जेनजी आन्दोलनले चाँडो एकता गरायो : प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० कम्युनिष्ट घटकहरूको एकीकरणलाई ऐतिहासिक भएको दाबी गरेका छन्। दाहालले बुधबार एकता घोषणासभामा नेपालको राजनीतिक समस्या समाधान गर्ने असाधारण आधार तयार पारेको बताएका हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दश दलले पार्टी एकता घोषणा गरेका छन्।
जसको संयोजकमा दाहाल र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्। उनले दश कम्युनिष्ट घटकले आफूलाई निक्कै ठूलो जिम्मेवारी दिएको बताए। उनले अब एक ढिक्का भएर देशका चुनौती र समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने, ‘एकै दिन दशवटा पार्टी एकीकरण असाधारण छ। नेपालको कम्युनिष्ट आन्दोलनका लागि आजको दिन ऐतिहासिक दिन रुपमा आएको छ, यो दिन कसैले बिर्साएर बिर्सिदैन।’
एकताले दलहरुमाथि लाग्दै आएको आक्षेपलाई सम्बोधन गर्ने दिन पनि भएको दाहालको भनाइ छ। प्रचण्डले नेपाली राजनीतिमा देखिएका कमजोरी भएको स्वीकार गर्दै जेनजी आन्दोलनले आफ्ना कमजोरीहरूलाई राम्रैसँग उजागर गरिदिएको उल्लेख गरे। संयोजक दाहालले जेनजी आन्दोलनको दबाबले नै विभाजनमा जाने शृंखला रोकेर आफूहरुलाई एकीकरणमा आउन सहयोग पुगेको बताए।दाहालले पार्टी र राज्य प्रणालीमा नयाँ पुस्तालाई स्थान दिन आवश्यक रहेको आवश्यकता औँल्याए।
अहिले व्यक्तिगत कुरामा अल्झिने समय नभएको बताउँदै प्रचण्डले भने, ‘हामीलाई व्यक्तिगत चिन्ता केही छैन, अब व्यक्तिगत भन्ने पनि केही छैन।’ उनले आफू सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्ने, तथा कमजोरी सच्याउनुको विकल्प नभएको स्पष्ट पारे। दश घटकको यो एकतालाई एउटा सुरुवातको रूपमा लिँदै प्रचण्डले नेकपा एमाले लगायत अन्य कम्युनिष्ट दलहरूलाई समेत एकतामा ल्याउने लक्ष्य रहेको उद्घोष गरे।
‘दश घटक पुग्यो भनेर चुप लाग्दैनौँ। माधवजीले भने जस्तै अरु दललाई पनि एकतामा ल्याउँछौँ। एमालेलाई समेत एकतामा ल्याउन तयार छौँ। हातेमालो गर्न तयार छौँ, दाहालले भने। उनले राष्ट्रिय समस्या समाधानमा कम्युनिष्ट पार्टी मात्रै जिम्मेवार नभएको भन्दै गैरकम्युनिष्टहरुसँग पनि सहकार्य गर्ने बताए। उनले भने, ‘कम्युनिष्टले मात्रै देश बचाउने होइन। अरु दल पार्टीहरू पनि छन्। सन्तुलित ढंगले अघि बढ्नुपर्छ।’ दाहालले गिरिजाप्रसाद कोइरालाले समेत आफूलाई देश बनाउने जिम्मेवारी सुम्पेर गरएको प्रसंग फेरि सम्झे।






















