बाजुराका किसानलाई सिमी भित्र्याउने चटारो


बाजुरा, कात्तिक १९ । बाजुराको हिमाली गाउँपालिकाको पाडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ ।गत बैशाख जेठमा यहाँका किसानले पाखो जमिनमा लगाएको सिमी यती बेला पाकेपछि पानीले भिजाउँछ की भन्ने डरले उनीहरुलाई सिमि भित्र्याउने चटारो परेको हो ।
पछिल्लो समय पाडीका किसान प्राय सिमी धेरै लगाउँछन् । यो दालको रुपमा प्रयोग गरिन्छ । यो स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छ । अहिले सिमीको माग धेरै बढेकोले किसान पनि धेरै लगाउने गरेको पाडीका स्थानीय जुना रोकायाले बतउानुभयो ।
उहाँले भन्नुभयो, “ कोदो सँगै यती बेला सिमी पनि पाकेको छ । कात्तिकमा यती बेला धेरै पानी पर्ने गरेकोले त्यो पानीले सिमी भिजाउँछ की भन्ने डरले अहिले यहाँका स्थानीयलाई सिमी घरमाभित्र्याउन लागालाग परेको हो ।” भेडाबाख्राको गौत गोबरमा सिमी उत्पादन गर्छौ । यो अर्गानिक पनि हुन्छ । त्यसले यसको माग अहिले धेरै बढेको छ । किन्नका लागि पनि अहिले गाउँमै व्यापारी आउने गरेको जुना रोकायाले बताउनुभयो ।
पाडीका झण्डै सयौ भन्दाबढी परिवारले सिमी लगाउँन्छ । पाखो जमिनमा यहाँ धेरै राम्रो सँग सिमी फल्ने गरेपछि उनीहरु कोदो सँगै सिमी लगाउँने गरेका हुन् । यहाँको सिमी पहिला फाटफुट जिल्लाको मार्तडी बजारमा सम्म पुग्ने गथ्र्यो । यसलाई यहाँ सरकारी तथा गैरसरकारी कर्मचारीहरुले किनेर आफ्नो घरमा लिने गर्थे । अहिले गाउँमा गाडी पुगेपछि यो जिल्लामा मात्र होइन जिल्ला भन्दाबाहिर समेत बिक्री हुने गर्छ ।
पहिला सिमी कतै बिक्री नहुने गरेकोले यहाँका स्थानीय आफुलाई खानका लागि मात्र लगाउँथे । अहिले यहाँका दुर्गम गाउँ बस्ती तथा पाडीको गाउँमै सडक पुगेपछि यहाँका किसानले उत्पादन गरेको यो सिमी देशका विभिन्न ठाउँमा पुग्न थालेपछि पछिल्लो समय यहाँका किसानले पनि सिमी बढी लगाउँने गर्छन् । अहिले यहाँका एक घरपरिवारले झण्डै एक दुइ क्वीन्टल भन्दाबढी सिमी उत्पादन गर्ने गरेको स्थानीय रोकायाले बताउनुभयो ।
बाजुरामा सिमीलाई मुख्य दालको रुपमा लिइने गरिन्छ । यहाँ सिमी राम्रो उतपादन पनि हुन्छ । यसले यहाँका स्थानीयको आर्थिकरुपमा टेवा पुग्ने सम्भावना देखिएकोले अहिले यसलाई फेरि राम्रो सँग खेती गर्ने गरी यहाँका किसानलाई उत्प्रेरित गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो । यहाँका हिमाली , जगनाथ , स्वामिकार्तिक खापर र बुढीनन्दा लगायतका विभिन्न ठाउँमा सिमी राम्रो उत्पादन हुने गरेको भएपनि कती हेक्टर जमिनमा कती सिमी उत्पादन हुन्छ भन्ने कुरा खासै एकिन नभएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।


















