कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता होः नेता खनाल


काठमाडौँ, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”
नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गर्नुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो भएको उल्लेख गर्दै यसका माध्यमबाट देश र जनताको भविष्य उज्वल बन्ने विश्वा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनपछिको राजनीतिक सङ्क्रमणलाई पार गराउन माओवादी केन्द्रका संयोजक दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वदायी भूमिका रहेको उहाँले बताउनुभयो । नेपाल समाजवादी पार्टीका तर्फबाट धारणा राख्दै अध्यक्ष यादवले यही नेतृत्वले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उल्लेख गर्नुभयो ।
नेकपा समाजवादीका नेता राजु कार्की, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत नेताले समाजवादी क्रान्ति पूरा गर्ने अठोटका साथ नेपाली कम्युनिष्ट पार्टी गठन भएको भन्दै सो पार्टीले समाजवादी आन्दोलनको अभिभारा पूरा गर्ने विश्वास दिलाउनुभयो ।
सो अवसरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य देवप्रसाद गुरुङले नवगठित पार्टीको अन्तरिम विधान र घोषणापत्र तथा १८ बुँदे एकताको आधार प्रस्तुत गर्नुभएको थियो । उहाँले सम्मेलनपश्चात् बन्ने केन्द्रीय समितिबाट गठन हुने कार्यदलले राजनीतिक दस्तावेज तयार गर्ने जानकारी दिनुभयो । एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसालले अन्तरिम विधानका विविध विषयबारे प्रकाश पार्नुभएको थियो ।






















