भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती


चितवन, कात्तिक १९ । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।
अन्य फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुरुप निजहरूलाई पक्राउ गर्नका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन जुटेको छ भने सुरक्षा निकाय लागिरहेको डा पन्तले बताउनुभयो ।
दुर्लभ एकसिङ्गे गैँडासहित वन्यजन्तु चोरीशिकारका मुख्य आरोपितहरूको सञ्जाल ठूलो हुने र फरार भएमा पक्राउ गर्न सास्ती हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले वन्यजन्तु अपराधका फरार कैदीबन्दी खोजीका लागि सम्बन्धित निकुञ्जले आवश्यक सहजीकरण गरिरहेका जनाउँदै सुरक्षा निकायको समन्वयमा निरन्तर खोजी भइरहेको बताउनुभयो ।
यसैबीच, विभागको आन्तरिक रूपमा रहेको वन्यजन्तु अपराध नियन्त्रण सचिवालयको बैठक बिहीबार बस्दैछ । यससँगै केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको बैठक बस्ने तयारी गरिएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्यूरोमा गृहसहित विभिन्न निकायका सहसचिवस्तरका अधिकारीहरू सदस्य रहने व्यवस्था छ ।
ढकालले राष्ट्रिय रूपमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै सबै निकुञ्जलाई पत्राचार गरी वन्यजन्तु अपराधमा केकति कैदीबन्दी फर्किएका छैनन् तथ्याङ्क सङ्कलन गरेर पठाउन भनिएको जानकारी दिनुभयो ।
कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट भागेका ७४३ मध्ये अझै १३५ कैदीबन्दी फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका जनाउँदै उहाँले वन्यजन्तु तस्करीमा ५३ जना कैदीबन्दी रहेका बताउनुभयो । उनीहरूमध्ये ४६ जना दुर्लभ एकसिङ्गे गैँडाका आरोपी हुन् भने सात जना अन्य वन्यजन्तुसम्बन्धी अपराधका हुन् ।























