निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त


काठमाडौँ, कात्तिक १७ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव माहादेव पन्थसहित सहभागी छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा आयोग र राससबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनको वातावरण बनाउन राससले आफ्नो ठाउँबाट निरन्तर भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
छलफलमा आयोगका सहसचिवहरू नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्र केसी, राससका लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी हुनुहुन्थ्यो ।























