बेँसीसहर–चामे सडक अवरुद्ध

रासस
२०८२ कार्तिक १४ | मध्यान्ह ०५:०७ बजे

लमजुङ । केही दिनदेखि परेको वर्षाका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो १४ः ३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ । सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन् । यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ ।
यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारी साधन सञ्चालन हुँदै आएको छ । पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ ।
सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।


















