समाचार

तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजार जनाले दिए राजीनामा

नवलपुर टुडे
२०८२ कार्तिक १४ | बिहान ०८:०७ बजे

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् । राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।

जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा/विद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए । त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो ।

काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए । नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण देखाएर प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको छ । ‘यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै छन्,’ घिमिरेले भने ।

प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० प्रहरीले राजीनामा दिएका छन् । अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । सशस्त्र प्रहरीमा पनि पेन्सन र उपदानमा राजीनामा दिनेको संख्या धेरै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार असोजमा सशस्त्रका २ सय ८५ जनाले पेन्सन सुविधामा राजीनामा दिएका छन् ।

उपदानमा राजीनामा दिनेको संख्या १८ छ । कात्तिक १ देखि लागू हुने गरी राजीनामा दिनेको संख्या १ सय १८ छ ।

कमेन्टहरु