पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’


जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् ।
पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताए । उनले भने, ‘यस वर्षको दसैँ तिहारमा दैनिक ५० जना भन्दाबढी आन्तरिक पर्यटकको आगमन भएको थियो । यहाँ पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तर बढे्ने अपेक्षा गरेका छौँ ।’
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ । हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताए ।
‘केहीदिन अगाडि समूहमा तालसम्म पुगेका थियौँ । रारा तालसम्म पुगेका पर्यटनलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सृजना हुने थियो’, उनले भने ।
आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिनुपर्ने थापाको भनाइ छ । तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे । तालको अवलोकन गरेर फर्किएका तातोपानी गाउँपालिका–४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे । यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको उनले बताए । कर्णाली प्रदेशको जुम्लामा पर्ने यस तालको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ ।
‘विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा आकासे ताल जस्ता कतिपय सुन्दर ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्त्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर गरी पर्यटन प्रवर्द्धनका माध्यमबाट मनग्य गर्न सकिन्छ’, नेपालीले भने ।























