देश

राष्ट्रपति पौडेल अगामी सोमबार कतार आउदै रामएकवाल राम

रामएकवाल राम
२०८२ कार्तिक १३ | मध्यान्ह ०२:०७ बजे

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कार्तिक १७ गते कतार आउने भएको छ। अगामी कार्तिक १८ देखि २० सम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी कतार आउन लागेका हुन। कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन कतार आउन लागेका हुन संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

तीस वर्षपछि हुन लागेको सो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको हो । सम्मेलनकै क्रममा राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता हुनेछ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो ।

सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुनेछ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने तयारी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ।राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् नेपालको प्रतिनिधित्व रहेको छ । विश्व शान्तिका लागि धेरै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल हाल पहिलो नम्बरमा छ । कतारको औपचारिक भ्रमण पूरागरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु