सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेशक्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्दार


काठमाडौ । नेपाल सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्दार गरेको छ । अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दीबाट अस्ति कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेशक्याम्प तर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहानसम्म १ सय ६२ जनाको उद्दार गरेको हो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको हो ।
सबै पर्यटकको उद्दार भएपछि यतिखेर बेशक्याम्प खाली भएको छ । ३ दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिंडेका केही पर्यटकलाई बाटो बाटनै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेशक्याम्प बाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।
अस्ति बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्दार भएको हो । उद्दार गरिएकाहरुलाई गुफाफांँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्दार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या देखिएको छैन ।























