दुर्घटना

कपिलवस्तुमा बस दुर्घटना एक जनाको मृत्यु, पाँच जना घाइते

नन्द किशोर कुर्मी (लालु)
२०८२ कार्तिक १३ | बिहान ०६:०७ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गएराति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । यस क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५५ वर्षका पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी छ । बसका घाइते यात्रुहरूको चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताएका छन् ।

कमेन्टहरु