पाल्पाको रैनादेवी छहरामा ईभी गाडी दुर्घटना, ३ जनाको मृत्यु


पाल्पा । पाल्पाको छहरामा भएको ईभी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ईभीका चालक ३१ वर्षीय कमल रायमाझीको निधन भएको छ भने अन्य दुई जनाको पहिचान खुलेको छैन । घटनास्थलमा प्रहरी भर्खर पुगेको छ ।
चालक रायमाझी रैनादेवी छहरा–४, अमलावासका हुन् । लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त ईभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले जानकारी दिएका छन् । बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा ईभी गाडी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भन्ज्याङमा दुर्घटनामा परेको रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश बरालले जानकारी दिए ।
दुर्घटनाग्रस्त ईभी सडकदेखि झन्डै २०० मिटर तल खोल्सामा पुगेको छ । स्थानीय होटल व्यवसायीका अनुसार करिब साढे ११ बजे छहराबाट हिँडेको ईभी धेरै समयसम्म मेहलढाप नपुगेपछि खोजीकार्य भएको थियो । खोजी गर्दै जाँदा दुर्घटनामा परेको जानकारी साढे एक बजे तिर इलाका प्रहरी कार्यालय मुझुङ्ले पाएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इलाका प्रहरी कार्यालय मुझुङ्को प्रहरी टोली पुगेर उद्धार गरी अस्पताल पठाएको छ । प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।























