त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने


काठमाडौँ, कात्तिक १२। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुनुहुने भएको छ ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा ९एमाले०का तर्फबाट एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा भाग लिनुहुने भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता रहने सम्बद्ध पार्टीले जनाएको छ ।
सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।























