अलैँचीको मूल्य निरन्तर उकालोः ४० केजीको एक लाख


झापा, भदौ १२। अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।
“अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो”, उहाँले भन्नुभयो, “अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ ।अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् ।
अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।
कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाका भएर रु सात अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।























