स्तरोन्नति र पुनर्निर्माण गरी पाँचतारे हायात होटल पुनः सञ्चालन गर्ने प्रतिबद्धता


काठमाडौँ । पाँचतारे होटल हायात रिजेन्सीले भदौ २४ को प्रदर्शनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने प्रतिबद्धता व्यक्त गरेको छ। होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै गत २४ भदौको प्रदर्शनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि सञ्चालन हुने जनाएका हुन् । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ।
‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रूपमा बन्द छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छौं ।’
विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ। होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धतासमेत जनाएको छ ।























