अटोमेटिक पेस्तोल बेच्न हिँडेका दुई भारतीय नागरिक दाङबाट पक्राउ


दाङ । दाङको देउखुरीबाट तीन लाखमा बिक्री गर्न खोजेको अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षीय करमुल्लाह आमिर र सोही क्षेत्र वडा नम्बर ८ का १९ वर्षीय राजा खान चाइनिज टाइप ५४ नाइन-९ एमएमको अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बरामद गरिएको उक्त पेस्तोल नयाँ रहेको र त्यसबाट फाइरिङ भएको नदेखिएको बताए। ‘बरामद पेस्तोल बिल्कुल नयाँ हो र त्यसबाट एक फायर पनि भएको देखिएन,’ एसपी काफ्लेले भने।
उनीहरुले दाङका एक मानिसलाई तीन लाखमा अन्तिम डिल गरेर बिक्री गर्न आउँदै गर्दा दाङ र कपिलवस्तुको सीमाना क्षेत्र कालाकाटे भन्ने ठाउँबाट सोमबार बेलुका पक्राउ गरिएको एसपी काफ्लेले बताए।
‘पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि जिल्लामा हतियार ल्याएर बिक्री गरेको देखिन आएको छ,’ एसपी काफ्लेले भने, ‘यसपटक हतियार किन्न खोज्ने पनि अनपेक्षित व्यक्ति छन्।’ ती हतियार किन्न खोज्ने व्यक्ति हाल फरार रहेको र प्रहरीले खोजी गरिरहेको एसपी काफ्लेले जानकारी दिए।
हतियारको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको गढवा गाउँपालिका-१ जुलौरी/कालाकाँटे क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट कालाकाँटे संयुक्त प्रहरी टोलीले सोमबार बेलुका पाँच बजेतिर दुई भारतीय नागरिकलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको थियो।
गोप्य सूचनाको आधारमा सादा पोसाकका प्रहरीले उनीहरूलाई पक्राउ गरेका थिए। एसपी काफ्लेका अनुसार ती भारतीय नागरिकहरु सुरूमा निजी गाडीमा कालाकाँटे क्षेत्रमा आएका थिए। त्यो गाडी फर्केपछि उनीहरूका लागि अर्को गाडी आएको थियो। त्यही क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
खानतलासीको क्रममा करमुल्लाह आमिरको साथबाट एउटा स्वचालित पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिसँग भएको फोन सम्पर्कका आधारमा थप अन्य संलग्न व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने बताएको छ।
एसपी काफ्लेका अनुसार पक्राउ परेका व्यक्तिहरू उपर हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको छ।






















