देश

आव ०७७/०७८ मा बलात्कारका घटनाहरु १८ प्रतिशतले बढ्यो, संगठित अपराध ४६ प्रतिशतले घट्यो

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । अघिल्लो वर्षभन्दा आर्थिक वर्ष २०७७/०७८ मा बलात्कारका घटनाहरु १८ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको हो ।

आर्थिक वर्ष ०७७/०७८ मा अपराधका ४० हजार १२० घटनाहरू दर्ता भएका थिए । नेपालमा दैनिक अपराधका घटनाहरु ११० वटा भएको यो तथ्यांकले देखाउँछ । तर, आर्थिक वर्ष ०७६/०७७ भन्दा पछिल्लो आर्थिक वर्षमा ४.२४ प्रतिशतले अपराधमा कमी आएको प्रहरी तथ्यांकले जनाएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा कर्तव्य ज्यानसम्बन्धी ६९७ वटा मुद्दाहरू दर्ता भएका छन् जुन ०७६/७७ मा दर्ता भएको घटनाभन्दा २५.५८ प्रतिशतले बढी हो ।त्यस्तै ०७७/०७८ आत्महत्याका सात हजार ११७ वटा घटनाहरू भएका छन् । यो ०७६/७७ को तुलनामा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांक विश्लेषण गर्दा नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा बलात्कार सम्बन्धि दुई हजार ५३४ घटनाहरू दर्ता भएका छन् जुन यो आर्थिक वर्ष ०७६/०७७ को तुलनामा १८.१९ प्रतिशतले बढी हो । यो तथ्यांकको विश्लेषण गर्दा नेपालमा दैनिक सातजना बलात्कृत हुने गरेको देखिन्छ । आर्थिक वर्ष ०७७/०७८ मा चोरीका घटनाहरू दुई हजार ३८२ वटा दर्ता भएका छन् । यो ०७६/०७७ मा भन्दा २.८२ ले कम हो ।

त्यस्तैगरी बैंकिङ कसुरसम्बन्धी अपराधका मुद्दाहरुमा पनि आर्थिक वर्ष ०७७/०७८ मा २८.२९ प्रतिशतले कमी आएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, लागुऔषधजस्ता कसुरहरू आर्थिक वर्ष ०७६/०७७ मा भन्दा ०७७/०७८ मा बढेको तथ्यांकले देखाउछ ।

मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, चोरी, सार्वजनिक शान्तिविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, बैंकिङ कसुरजस्ता अपराधहरू आर्थिक वर्ष ०७६/०७७ मा भन्दा ०७७/०७८ मा घटेका छन् । आर्थिक वर्ष ०७७/०७८ मा संगठित अपराधका घटनाहरु अघिल्लो वर्षमा भन्दा ४६ प्रतिशतले कमी आएको छ ।

कमेन्टहरु