संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह


पाटन (ललितपुर), कात्तिक १० । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उहाँको प्रशंसा गर्नुभयो । उहाँले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाउनुभयो ।
नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विसं २०१० साल कात्तिक १० गते गठन भएको तरुण दलले कांग्रेसको हितका साथै मुलुक र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।























