सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

रासस
२०८२ कार्तिक १० | बिहान ०९:०७ बजे

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् ।
‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन,‘ सन्देशमा भनिएको छ, ‘आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राख आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।’
छठसहित हाम्रा चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस् ।”
सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिकरूपमासमेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उल्लेख छ ।


















