देश

चीनको हेनान प्रान्तमा बाढीमा परी ३०२ जनाको मृत्यु , दर्जनौं बेपत्ता

जगत ठाडा मगर
२०७८ साउन १९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । चीनको हेनान प्रान्तमा गत महिना आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुगेको छ । गत साता सार्वजनिक गरिएको भन्दा यो संख्या झण्डै तीन गुणा धेरै हो ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेका छन् ।
बाढीबाट सबैभन्दा बढी प्रभावित भएको झेङझोउ सहरमा मात्रै २९२ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता छन् ।

झण्डै एक करोड २० लाख जनसंख्या रहेको झेङझोउ सहरमा गत महिना अविरल वर्षापछि शताब्दीकै सबै ठूलो बाढी आएको थियो । ३९ जनाको मृत शव अन्डरग्राउण्ड पार्किङमा फेला परेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेको भिडियोमा रेल स्टेसनहरुमा मानिसको घाँटीसम्म आउने गरी पानी आएको देखिएको थियो ।
विशेषज्ञहरुले जलवायु परिवर्तनको कारण यस्ता समस्याहरु देखिने गरेको बताउँदै आएका छन् ।

कमेन्टहरु