चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा


चितवन, कात्तिक ९। भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।
केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थपगरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत अनुमान गरिएको छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट बिवनयोजन गरिएको थियो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो ।























