देश

मेलम्चीमा बाढी : कटान अझै रोकिएन, विस्थापितलाई बासकै समस्या, सडक बिजुली लगायत सुविधा ठप्प

जगत ठाडा मगर
२०७८ साउन १९ | बिहान ०८:०४ बजे

काठमाण्डाै । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण विस्थापित भएका घरपरिवारलाई बसोबासको समस्या भएको छ । शनिवारदेखि आएको बाढीका कारण विस्थापित भएकालाई बस्ने ठाउँको समस्या भएको हो ।

बर्खाको समय भएकाले सुरक्षित बासको समस्या भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो। प्रभावितले आफ्ना सामानहरु सडकमा नै अलपत्र अवस्थामा राखेका छन् । बाढीले अहिले पनि कटान गरिरहेकाले जोखिम कम नभएको मेयर अर्यालले बताउनुभयो ।

मेलम्ची नगरपालिकाको वडा नम्बर ६ को तालामाराङका केही घरहरु गएराति बगाएको छ भने एउटा गुम्बा पनि ढल्ने अवस्थामा पुगेको छ । यस्तै, बाढीले सडकसञ्जाल ध्वस्त पार्दा आवतजावत ठप्प छ । अरनिको राजमार्ग हुँदै मेलम्चीसम्म पुग्न समस्या नभए पनि त्यहाँबाट जाने अन्य पालिकामा आवतजावत ठप्प छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बु गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएका छन् । मेलम्चीमा जसोतसो विस्थापितलाई खानपानको व्यवस्था गरे पनि अन्य गाउँपालिकामा समस्या भएको छ । यस्तै, बाढीले बिजुलीका प्राय: सबै पोल ढाल्दा प्रभावित क्षेत्रमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ ।

मेलम्ची–९ मा रहेको ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन फेरि बन्द भएको छ भने पाँचखाल वितरण केन्द्रबाट पुर्याइएको बिजुली पनि पोल ढल्दा ठप्प भएको मेयर डम्बरबहादुर अर्यालले बताउनुभयो ।

गत असार १ गते याङ्ग्री खोलामा आएको बाढीका कारण बन्द भएको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन गएको बुधवार मात्र सञ्चालनमा आएको थियो तर, अस्ति रातिदेखि उत्पादन फेरि बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै ठाउँमा विद्युत् सेवा ठप्प भएको छ । मर्मत गरेर मात्रै बिजुलीको आपूर्ति गर्नु पर्ने भएकाले सेवा सुरु हुन समय लाग्ने वितरण केन्द्रले जनाएको छ । रासस

कमेन्टहरु