आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ


काठमाडौँ, कात्तिक ५। नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।























