कृषि

सयपत्री फूलको माग धान्न धौ–धौ

रासस
२०८२ कार्तिक ४ | मध्यान्ह ०४:०७ बजे

तनहुँ, कात्तिक ४। यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् ।

समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताउनुभयो । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ । कतिपय व्यवसायीहरु फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।”

आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताउनुभयो । उहाँले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताउनुभयो । “सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ”, शाखाप्रमुख केसीले भन्नुभयो,“यस क्षेत्रमा मौत्र ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब रु १५÷१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरुप उत्पादन भने भइरहेको छैन ।”

यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ ।

गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ”, उहाँले भन्नुभयो, “फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।”

कमेन्टहरु