सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेणा मिलोस्ः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ, कात्तिक ४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।तिहार पर्व–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा विशुद्ध नेपाली मौलिक संस्कृति भएको र जसले समाजमा एकता तथा भाइचारालाई प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।
“यसबाट सङ्कलित कोष सामाजिक र सामूदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “साथै,अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।”
तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथैधन–ऐश्वर्य तथा समृद्धिको प्रतिक देवी लक्ष्मी, प्राकृतिक स्रोतको प्रतिक गोवद्र्धन पर्व र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान तथा मनोरञ्जन गर्ने परम्परा रहिआएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”























