नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकताः एआइजी कार्की


काठमाडौँ, कात्तिक ३ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताउनुभएको छ ।
कार्यक्रममा एआइजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गर्नुभयो । उहाँले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गर्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिककै सुरक्षाका लागि सडकमा खटिने भएकाले ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन आग्रह गर्नुभयो । उहाँले विशेषतः तिहार, भाइटीका, देउसी–भैलोका समयमा रमाइलोका नाममा मादक पदार्थ सेवनपछि गाडी चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसीले ट्राफिक प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गर्ने प्रस्तुति दिनुभएको थियो । चलचित्र निर्माताहरू रोहित अधिकारी, धिरज तामाङ र चलचित्र वितरक किरण श्रेष्ठलाई कार्यक्रममा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीले ट्राफिक सचेतना सम्बन्धी विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गजल गायक थानेश्वर गौतम, गायक सरोज ओली, ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।























