देश

मन्त्रीले देशलाई घाटा हुने कुरा गर्यो भने कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नु पर्छ : अर्थमन्त्री शर्मा

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले यदि कुनै मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुरा गरेमा त्यसलाई कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नुपर्ने बताएका छन् ।

आफ्नो मन्त्रालयमा त्यस्तो कर्मचारी चाहेको उनको भनाइ रहेको छ । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको पद बहाली र निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको बिदाईका लागि आयोजित कार्यक्रममा शर्माले यस्तो बताएका हुन् ।

‘मन्त्रालयमा टेबुल-टेबुलको शासन चलाएर हुँदैन, अत्यावश्यकीय महत्वपूर्ण विषयमा एउटै टेबुलमा बसेर छिटो छरितो काम गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ सचिवका रुपमा सरुवा भएका छन् भने निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । ढुंगाना आगामी ६ महिनापछि सेवानिवृत्त हुनेछन् । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरे ।

कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको कामकारबाहीमा खट्न आग्रह गरेका हुन् ।

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रीटलाई मनन गर्न निर्देशन दिए । कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंगलाई उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न निकै टेवा पुर्‍याउने धारणा व्यक्त गरे । कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको प्रभाव अब विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए ।

कोभिड महामारीकै बिच राजश्व संकलनको करिब ९२ प्रतिशत लक्ष्य पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

अर्थ मन्त्रालय र मातहतका निकायमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतका विषयमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।

कमेन्टहरु