तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

रासस
२०८२ कार्तिक ३ | बिहान ११:०७ बजे

काठमाडौँ, कात्तिक ३ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आज आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।
समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ ।


















