तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

रासस
२०८२ कार्तिक २ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ, कात्तिक २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


















