यमपञ्चकको दोस्रो दिन: काग तिहार मनाइयो


काठमाडौँ, कात्तिक २ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ ।काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिनेक्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
शनिबारदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै कागतिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शनिबार यमपञ्चक सुरु भएकामा आज दोस्रो दिन काग तिहार पर्व मनाइएको हो ।























