भारतीय दूतावास अगाडि नेपाल पक्षका युवा संघको प्रदर्शन, ‘जयसिंह धामीको मृत्यु होइन हत्या हो’


काठमाडौं । दार्चुलाको महाकाली नदिमा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी बेपत्ता भएको घटनाको विषयमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्द गर, जयसिंह महराको मृत्यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्यवस्था गर ‘ लगायतका प्लेकार्डसहित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
भारतीय एसएसबीले तुइनको डोरी काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै संघले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न र जयसिंह धामीको परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले भारतीय दूताबास नजिकै लैनचौरमा प्रदर्शन गर्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् ।

भारत सरकारले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
























